दमौली ४ चैत ।
तनहुँको सदरमुकाम दमौलीबाट सुरुवात गरिएको सयौं हातहरु अभियानलाई सामाजिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरिएको छ ।अभियानका संयोजक डम्बरबहादुर अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति रहने गरी संस्था दर्ता गरिएको छ ।संस्थाको उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा पुष्पराज आचार्य, सचिवमा वसन्त कडेल, कोषाध्यक्षमा विकास खनाल सदस्यहरुमा ओमकार आचार्य, सुनिल रिजाल, अन्जु अधिकारी के.सी., विजया बस्नेत खड्का, रेखा पाण्डे पराजुली र कृष्णबहादुर अधिकारी रहेका छन् ।
त्यस्तै संस्थाको सल्लाहकारमा माधवबहादुर पन्त र मेघनाथ आचार्यलाई समेत राखिएको छ ।संस्थाका अध्यक्ष अधिकारीका अनुसार सदस्यहरुबाट बार्षिक रुपमा संकलित एक–एक हजार रकम एकमुष्ट रुपमा राज्यको पहुँच नपुगेको स्थानको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा खर्च गरिनेछ ।संस्थाले एक साता भित्र जिल्लाको कुनै एक स्थानमा सहयोग हस्तान्तरण गर्ने समेत अध्यक्ष अधिकारीले बताए ।
संस्थाका महासचिव पुष्पराज आचार्य यो संस्थाले भविष्यमा देशव्यापी रुपमा शाखा विस्तार गरेर सामाजिक अभियान अगाडि बढाउने बताउँछन् । साथै महासचिव आचार्य संस्थाका हर गतिविधी पारदर्शी ढंगले अगाडि बढाउनका लागि केही समय भित्र वेवसाइट संचालन गरी सहयोग गर्ने सदस्यहरुको नाम, ठेगाना, पेशा र रकम सार्वजनिक गर्ने समेत बताउँछन् ।
यसैबीच सयौं हातहरु अभियानलाई विदेशी हातहरुबाट समेत सहयोग जुट्नेक्रम सुरु हुन थालेको छ ।यसरी विदेशी हातहरुबाट सहयोग जुट्नेक्रममा कतारमा कार्यरत फिलिपिनी नागरिक लिजा तारेनोले सहयोग गरेकी छन् । तारेनोले कतार शाखा संयोजक सन्तोष पौडेललाई सहयोग रकम हस्तान्तरण गरेकी थिइन् ।
यसअघि श्रीलंकाली र बंगाली नागरिकहरुले समेत सयौं हातहरु अभियानलाई कतार शाखा संयोजक सन्तोष पौडेल मार्फत सहयोग हस्तान्तरण गरेका थिए । यसैगरी सयौं हातहरु अभियानलाई लम्जुङग घर भई हाल न्यूजिल्याण्डमा बसोबास गर्दे आएका जनसम्र्पक समितिका अध्यक्ष बुद्धिसागर घिमिरेले समेत पाँच बर्षको ५ हजार सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।



0 Comments
You can be the first one to leave a comment.