
सम्माननीय भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदी ज्यू ,
सर्वप्रथम त वैशाख २८ मा दुई दिने नेपाल भ्रमणमा आउन लाग्नु भएकोमा यहाँलाई हार्दिक स्वागत छ । आशा गरौ, तपाईको पछिल्लो पटक हुन गईरहेको दुई नेपाल भ्रमण नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धलाई प्रगाढ बनाउन थप मद्धत पुरयाउनेछ ।
तपाई ,प्रधानमन्त्री निर्वाचित भएलगत्तै नेपाल भ्रमणमा आउँदा तपाई प्रति नेपाली जनताले ठूलो आशा र भरोसा गरेका थिए । तर नेपालको संविधान जारी हुँदै गर्दा उत्पन्न असहज परिस्थितीका कारण तपाई र भारत सरकार नेपाली जनताले जुन आशा र भरोसा गरेका थिए त्यसमा केही ठेस लाग्न पुग्यो ।
यद्यपी पछिल्लो समयमा पुनः नेपाल र भारतको सम्बन्ध सुधारको संकेत देखिएको छ ।यसरी सुधारको संकेत देखिने क्रममा नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गरिसक्नु भएको अवस्था छ । यसैक्रममा तपाई समेत वैशाख २८ गते नेपाल आउने कार्यक्रम तय भएको विषय सार्वजनिक भएको छ । यो अत्यन्त स्वागत योग्य विषय हो । विभिन्न संचार माध्यमले जनाए अनुसार नेपाल भ्रमण आउँदा तपाई जनकपुर समेत जाने कार्यक्रम तय भएको छ । यसै सिलसिलामा एक हिन्दूधर्मालम्बी भएको नाताले तपाईलाई महाभारत ,चारवेद र अठार पुराणका रचयिता वेदव्यासको जन्मथलो दमौली आउन समेत निमन्त्रणा गर्दछु । स्मरणीय के छ भने व्यास जन्मभूमि दमौलीमा १०८ फिट अग्लो व्यासको मूर्ति निर्माण कार्य अगाडि बढेको अवस्था छ । त्यस्तै व्यास जन्मभूमि दमौलीलाई हिन्दूहरुको मूलथलोको रुपमा घोषणा गर्ने अभियान समेत अगाडि बढिरहेको छ ।यस्तो अवस्थामा तपाईको गरिमामय उपस्थिती भएको खण्डमा सारा हिन्दूधर्मालम्बीहरुलका लागि गौरवको विषय हुनेछ ।
डम्बर अधिकारी
अभियन्ता ,व्यास वाज वर्न इन दमौली



0 Comments
You can be the first one to leave a comment.