पञ्चायतकाल होस् या २०४६ सालको परिवर्तन पछि अनि राजाको प्रत्यक्ष शासनकाल राष्ट्रिय राजनीतिमा तनहुँको भूमिका कहि न कहि हुने गर्दथ्यो । तर मंसिर २१ प्रतिनिधी सभा निर्वाचनको परिणाम सार्वजनिक पछि भने राष्ट्रिय राजनीतिमा तनहुँको भूमिका क्रमसः साँघुरिदै जान थालेको छ ।
खासगरी यस अगाडि गठन हुने प्राय सरकारमा तनहुँबाट प्रतिनिधित्व हुने गर्दथ्यो ।तर यसपटक भने तत्कालका लागि तनहुँबाट सरकारमा प्रतिनिधित्व हुने सम्भावना सम्भावना समाप्त भएको छ । यो पाँच बर्षको बीचमा वाम गठबन्धन भित्र उथलपुथल भएको खण्डमा भने तनहुँबाट प्रतिनिधी तथा राष्ट्रिय सभामा निर्वाचित सांसदहरु मन्त्री नबल्लान् भन्न सकिन्न ।तर ओली नेतृत्वको सरकार विस्तार हुँदै गर्दा तनहुँबाट प्रतिनिधित्व गरेका कोही पनि मन्त्रिमण्डलमा पर्न सकेनन् ।यसो हुनुमा तनहुँबाट प्रतिनिधित्व गर्ने सांसदहरुको राजनीतिक पहुँच राष्ट्रिय राजनीतिमा कमजोर हुनु नै प्रमुख कारण भएको तनहुँको राजनीतिलाई नजिकबाट नियाल्नेहरुको भनाई रहेको छ । निर्वाचन अगाडि र निर्वाचन पछिको बजार हल्ला सुन्दा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्न सफल तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ मन्त्रिमण्डलमा पर्ने लगभग निश्चित जस्तै थियो । तर अहिलेका लागि श्रेष्ठ मन्त्री बन्ने हल्ला हल्लामा नै सिमिति हुन पुगेको छ । क्षेत्र नं १ बाट निर्वाचित श्रेष्ठको त बजार हल्ला समेत चलेको थियो तर क्षेत्र नं २ बाट निर्वाचित सांसद केदार सिग्देल र समानुपातिक तर्फकी सांसद कलिला खानको त्यही हल्ला चलेको पनि पाइएन ।
विगतलाई एकपटक फर्केर हेर्ने हो भने तनहुँ पुख्यौली थलो र जन्मथलो भएका राजनीतिज्ञहरु डा. भेषबहादुर थापा , श्रीभद्र शर्मा ,रमेशनाथ पाण्डे, कमल थापा ,क्षेत्रप्रताप अधिकारी लगायत पञ्यातकालमा मन्त्री भएका थिए ।यि मध्ये थापा २०४६ सालको परिवर्तन देखि देउवा नेतृत्वको पछिल्लो सरकारमा समेत मन्त्री भएका थिए । त्यस्तै २०४६ सालको परिवर्तन पछि काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र गोविन्दराज लामो समय मन्त्री बने ।पौडेल सभामुख सम्म बन्न सफल भए ।त्यो बीचमा नरहरि आचार्य समेत मन्त्री बन्न सफल भए ।त्यस्तै अमरराज कैनीको भागमा समेत राज्यमन्त्री परयो । त्यसैगरी राजाको प्रत्यक्ष शासनकालमा तनहुँकै दुर्गा श्रेष्ठ समेत मन्त्री बन्न सफल भइन् । त्यहीबीचमा तनहुँकै रविन्द्र खनालले समेत झण्डा हल्लाएर जिल्ला आउने मेसो मिलाए । त्यस्तै जनआन्दोलन भाग २ पछि तनहुँबाट निर्वाचित तत्कालिन एमालेका सांसद किरण गुरुङ,जनमुक्ति पार्टीका सांसद शिवलाल थापा र काग्रेसका सांसद शंकर भण्डारी समेत मन्त्री बन्न सफल भए ।यसरी मन्त्री बन्न सफल भएका नेताहरुले जिल्ला र जिल्लाबासीका लागि के कति योगदान पुरयाउ त्यसको लेखाजोखा त जिल्लाबासीले नै गरिरहेका छन् ।
तर पछिल्लो समय मन्त्रिमण्डलमा तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एकजना प्रतिनिधि पनि केन्द्रीय सरकारमा मन्त्रिमण्डलमा नपर्दा भने जिल्लाबासीले वास्तवमा तनहुँको राष्ट्रिय राजनीतिमा पहुँच साँघुरिदै गएको महसुस गर्न थालेका छन् । यसरी राष्ट्रिय राजनीतिमा तनहुँको पहुँच साँघुरिदै जाँदा जिल्लाको विकास निर्माण देखि अन्य निकायमा तनहुँ ओझेलमा पर्ने सम्भावना बढी देखिन्छ । यद्यपी राजनीति मात्रै सर्वश्व होइन अन्य क्षेत्रबाट समेत तनहुँको पहुँच बढाउन तर्फ जिल्लाबासी लाग्नुपर्ने जरुरी देखिन थालेको छ।




0 Comments
You can be the first one to leave a comment.