प्रेस जगत माथिको आक्रमण कुनै नौलो विषय होइन । राष्ट्रिय होस या अन्तराष्ट्रिय जगतमा प्रेस जगत माथि निरन्तर आक्रमणका घटना भईरहेका छन् । यसरी आक्रमण हुनेक्रममा प्रेस जगतमा काम गर्ने संचारकर्मीहरुको ज्यानै लिने देखि भौतिक सामाग्रीहरुमा बेलाबखतमा आक्रमण भईरहेका छन् । यसै सिलसिलामा पछिल्लो पटक नेपालको बारा जिल्लामा प्रेस जगतमाथि आक्रमण भएको छ ।
बारा उद्योग वाणिज्य संघको अगुवाईमा विभिन्न राजनीतिक कार्यकर्ताहरुले गरेको सो आक्रमणमा परी विभिन्न पत्रपत्रिकाहरु जलाइनुका साथै कान्तिपुर दैनिकको सवारी साधान समेत जलाइएको छ । आफू अनुकुलको समाचार प्रथम पृष्ठमा नछापेको भन्दै पत्रिका र पत्रिकाको सवारी साधान जलाउनु स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेप हो । यो हस्तक्षेपको जतिसुकै निन्दा गरेपनि कम हुँदैन ।
मुलुकमा पछिल्लो समयमा भएका घटनाक्रमलाई नजिकबाट नियालेर हेर्ने हो भने आफू अनुकुलको समाचार प्रकाशित र प्रशारित नभएपछि संचार प्रेस जगतमाथि आक्रमण गर्ने प्रवृति विकसित हुँदै गईरहेको छ । यो अत्यन्त गलत छ । यस्ता गलत प्रवृतिको अन्त्य हुनु जरुरी छ । अर्कोकुरा प्रेस जगत माथि आक्रमण गर्नेहरुलाई कडाभन्दा कडा कार्वाही नहुँदा बेला बेलामा यस किसिमका आक्रमणका घटनाहरु दोहोरी रहेका छन् ।
तसर्थ प्रेस जगत माथि आक्रमण गर्नेहरुलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारले कञ्जुस्याई गर्नु हुँदैन । मुलुकमा लोकतन्त्र स्थापना भएपछि प्रेस जगत सुरक्षित हुने अनुमान गरिएको थियो । तर पछिल्ला घटनाक्रमले त्यो अनुमान गलत सावित हुन पुगेको छ । हेरौ, लोकतन्त्रमा कतिञ्जेल प्रेस जगतले असुरिक्षत महसुस गरिहनु पर्ने हो त्यो त भविष्यले नै देखाउने छ ।



0 Comments
You can be the first one to leave a comment.