
लन्डन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेल बेलायत फर्किएका छन्। यसअघि बेलायतको बहुराष्ट्रिय कम्पनीको जागिर छोडेर नेपाल फर्किएका पौडेल पुनः स्थायी बसोबासका लागि बेलायत आएका हुन्।
७ बर्ष बेलायतमै जागिरे जीवन बिताएर नेपाल फर्केका पौडेललाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरिबी घर परिवार सहयोग समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्ति दिएका थिए ।
पौडेलले नेपाली कांग्रेसको महाधिवेशनलगत्तै कर्मचारी संयन्त्रले असहयोग गरेका कारण काम गर्न अप्ठ्यारो परेको भन्दै सो पदबाट राजीनामा गरेका थिए। कतिपयले नेता रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा कांग्रेसभित्र चर्चा गरिरहँदा पौडेल भने १ छोरा र श्रीमतीसहित बेलायत आएका हुन्। स्रोतका अनुसार उनी अहिले एक गैरआवासीय नेपाली सँघका नेताको घरमा परिवारसहित अस्थाई रुपमा बसेका छन्। स्रोतका अनुसार उनी अहिले छोराको लागि स्कुल र नयाँ जागिरको खोजीमा छन्।
‘देशका लागि केही गरौं भनेर नेपाल गएको थिएँ, हाम्रो कर्मचारी संयन्त्रलाई नजिकबाट चिन्ने अवसर पाइयो, सोँचेजस्तो काम गर्ने वातावरण बनेन’, पौडेलले भने, ‘अब केही समय यतै हुनेछु।’
विभागीय मन्त्री र कर्मचारीले असहयोग गरेको भन्दै गरिब घर परिवार सहयोग समन्वय सचिवालय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले राजीनामा दिएका थिए। पौडेलले बुधबार सहकारी तथा गरिवी निवारणमन्त्री चित्रबहादुर केसीसमक्ष राजीनामा बुझाएका थिए।
पौडेललाई तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले ०७१ कात्तिक २४ गते बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको थियो। कांग्रेस नेता रामचन्द्र पौडेलका पुत्र चिन्तनलाई बोर्डको कार्यकारी उपाध्यक्ष बनाएको भन्दै पौडेलको चर्को आलोचनासमेत भएको थियो।
www.nagariknews.com bata



0 Comments
You can be the first one to leave a comment.